नेपाल संवत् ११४६ को शुभकामना सन्देश
‘नेपाल संवत् ११४६’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक संवत् को रुपमा रहेको देखिन्छ । यस संवत्को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्को नयाँ वर्षको रूपमा काठमाडौँ उपत्यकालगायत नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानहरूमा नयाँ संवत् शुरू हुने विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।
लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आवद्ध रहेको सन्दर्भमा हाम्रा चाडपर्व र सांस्कृतिक अभ्यास दर्शाउने यस्ता परम्पराहरूले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाबाट भएका जनताको स्वतन्त्रता र आर्थिक मुक्ति जस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर एवम् कटिवद्ध रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।
अन्त्यमा‚ नेपाल संवत्ले सम्पूर्ण नेपालीबीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न तथा नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई अझ सुदृढीकरण गर्न थप मद्दत पुग्ने विश्वासका साथ नेपाल संवत् ११४६ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ साल कात्तिक ५ गते, बुधबार ।
ने.सं. ११४६ कछलाथ्व प्रतिपदा ।



