सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बडा दसैँ, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

बडा दसैँ, २०८२ को शुभकामना सन्देश

हिन्दु धर्मावलम्वीहरूको महान् चाड बडा दसैँ, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

शक्ति, भक्ति भाव र श्रद्धाको पर्वको रूपमा हिन्दुहरूले मनाउने बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि नवमीसम्म नवदुर्गा भवानीको पूजा अर्चना गर्ने गरिन्छ। विजया दशमीका दिन दुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रुपमा बडा दसैँ मनाउने गरिन्छ।  विजया दशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथनहरू छन्। बडा दसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहि आएको छ। दसैंलाई असत्यमाथि सत्यको विजयको पर्वको रूपमा पनि लिइन्छ। यस पर्वले सबै नेपालीहरूलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास मैले लिएको छु।

बडा दसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व बढाएको छ। यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्‌भाव र भाइचारा मजबुद् बनाउँदै मुलुकमा रहेको भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान पुर्‍याई रहेको देखिन्छ।

मुलुकमा उत्पन्‍न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी तोकिएको निर्वाचन समयमै सम्पन्‍न गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्‍न सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्‍त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु।

अन्त्यमा, दसैँ पर्वको संरक्षण एवम् सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वासकासाथ  पुन: बडा दसैँ, २०८२ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक उर्जा विकास गर्न सकोस् भन्‍ने कामना गर्दछु।

जय नेपाल !

२०८२ असोज १३ सोमबार।

ने.सं. ११४५ कौलाथ्व सप्‍तमी।