संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को शुभकामना सन्देश
संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु ।
नेपाली जनताको संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस (राष्ट्रिय दिवस) मनाइरहेका छौ ।
वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई यस दिवसले एकजुट हुन प्रेरणा दिनेछ भन्ने अपेक्षा लिएको छु ।
हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित संभावनाको ढोका खोलेको छ । सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट हाम्रो जलस्रोत र उर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके मात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्र स्थानमा छिट्टै नै पुग्न सक्दछ भन्ने मलाई लाग्दछ ।
हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी एवम् बहुसंस्कृतिलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ ।
नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानद्बारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ ।
अन्त्यमा, आजको यस अवसरमा संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ-आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा हार्दिक आव्हान गर्दै पुन: एकपटक संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ साल असोज ३ गते शुक्रबार ।
ने.सं. ११४५ ञलागा, त्रयोदशी ।



