जितिया पर्व, २०८२ को शुभकामना सन्देश
जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।
जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा मानवीय जीवन र भविष्यका लागि मार्गदर्शक यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको छ । जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सदभाव पारिवारिक एकता र प्रेम महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र निरन्तरता एवम् आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको मैले महसुस गरेको छु ।
नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचारयुक्त जीवनशैली अपनाउनका लागि यस्ता पर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिन्छ ।
अन्त्यमा, यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८२ भदौ ३० गते सोमबार ।
ने.सं. ११४५ ञलागा, अष्टमी ।



