कुमारी इन्द्रजात्रा पर्व, २०८२ को शुभकामना सन्देश
कुमारी इन्द्रजात्रा पर्व, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-अर्चना गर्दै कुमारी (जीवित देवी), भगवान् गणेश र भगवान् भैरवको रथयात्रा गरी धुमधामकासाथ मनाउने परम्परा रहिआएको छ । वृष्टि र उर्वरता प्राप्त हुने विश्वासकासाथ मनाइने यस पर्वले धार्मिक कार्य र परम्पराको निरन्तरता, सामाजिक ऐक्यवद्धता, मेलमिलाप र सहकार्य बढाउनुका साथै प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न तथा आफ्नो मूल्य र परम्परालाई निरन्तरता दिन तथा विकसित बनाउन थप मद्दत पुग्ने विश्वास मैले लिएको छु ।
मूलत: काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखासमेतका जिल्लाहरूमा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने देखिन्छ ।
अन्त्यमा, हाम्रो मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गरी सामाजिक ऐक्यवद्धतासहितको राष्ट्रिय गौरव प्राप्त गर्न यस पर्वले हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८२ भदौ २१ गते शनिबार ।
ने.सं. ११४५ ञलाथ्व, चतुर्दशी ।



