आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्म जयन्तीको सन्देश
आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्म जयन्तीको अवसरमा उहाँलाई स्मरण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रुपमा तनहुँ जिल्लाको चुँदी रम्घामा वि. सं. १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ । भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याइ नेपाली भाषा, साहित्य एवम् संस्कृतिको सम्वर्द्धनका निम्ति अतुलनीय योगदान पुर्याएको पाइन्छ । नेपाली कविताका आदिकवि र भाषाका प्रवर्द्धक भानुभक्तलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा पनि चिनिन्छ ।
आदिकवि भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच जनचेतनाको विकास र भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्वपूर्ण भूमिका निभाएको छ । भानुभक्तीय रामायण नेपाली भाषा लिपीको प्रवर्द्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा, सेवाभाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्याउने रचना हो । भानु जयन्तीको यस अवसरमा नेपाली भाषा र लिपीको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुदाँ सबै भाषाभाषी समुदायले आ-आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन आव्हान गर्दछु ।
भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा आदिकविको ऐतिहासिक साँस्कृतिक स्थलको रूपमा विकास गर्न सकेमा नै उहाँप्रति हाम्रो सच्चा सम्मान हुनेछ भन्ने मलाई लाग्दछ । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्दछ ।
अन्त्यमा, आदिकवि भानुभक्त आचार्यलाई सम्मानका साथ स्मरण गर्दै सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै भाषा संस्कृतिप्रतिको प्रेम, सम्मान एवम् संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८२ असार २९ गते आइतबार ।
ने.सं. ११४५ दिल्लागा तृतीया



