अन्तर्राष्ट्रिय योग दिवस, (जुन २१) २०२५ को शुभकामना सन्देश
अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) , २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन शुरू गरिएको हो । यस वर्ष हामी “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइरहेका छौं ।
योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवम् जीवनपद्धतिका रुपमा लिइन्छ । योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउँने तनावबाट मुक्त गराउने र सकारात्मक उर्जा प्राप्त हुने विश्वास गरिन्छ । योगको माध्यमबाट हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, आन्तरिक उर्जा प्राप्त हुने र आत्मप्रेरणा हासिल हुनेलगायत सकारात्मक गुणको विकास हुन सक्छ । योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना एवम् स्थिरतातर्फ डोर्याउने भएकाले मानिसलाई स्वस्थ्यकर जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योग अभ्यासले सहयोग पुर्याउँछ भन्ने मलाई लाग्दछ ।
विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको देखिन्छ । नेपालमा सांस्कृतिक क्षेत्रको भौतिक तथा अभौतिक सम्पदाहरूमा योग विज्ञानको प्रयोग भएको पाइन्छ । योगलाई मुलुकको राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अंगको रुपमा स्थापित गर्दै यस क्षेत्रको विकासमा थप कार्य गर्न आवश्यक रहेको म ठान्दछु ।
विश्वव्यापी रुपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौं वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंशको रुपमा रहेको देखिन्छ । विभिन्न कारणबाट मानिसमा देखिने तनाव तथा प्रदूषण र प्रतिस्पर्धा आदिबाट जटिल बन्दै गएको मानव जीवनलाई सहज, सरल र स्वस्थ्य बनाउन योग अभ्यासलाई जीवन शैलीका रुपमा उपयोग गर्न जरुरी छ ।
अन्त्यमा, यस दिवसले योगलाई मानव जीवनमा निरन्तर गर्नुपर्ने कार्यको रुपमा आत्मसात् गरी सबैलाई शारीरिक र मानसिक स्वस्थ्य एवम् सुखी रहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ साल असार ७ गते शनिबार ।
ने.सं. ११४५ तछलागा दशमी ।



