कार्यक्रमका अध्यक्ष
माननीय प्रदेश प्रमुख
माननीय मन्त्री
माननीय राज्यमन्त्री तथा प्रदेश मन्त्रीहरू
उपस्थित महिला तथा सज्जनवृन्द !
सर्वप्रथम, एघारौँ चुरे संरक्षण दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै चुरे क्षेत्रको प्राकृतिक स्रोतको दिगो संरक्षण र व्यवस्थापनमा सहभागि हुन सम्पूर्ण नेपालीहरूमा थप प्रेरणा र उर्जा मिलोस् भन्ने कामना गर्दछु ।
कमलो चट्टानबाट निर्मित चुरे क्षेत्र भौगर्भिक हिसाबले कमजोर छ जसका कारण यो क्षेत्र भू–क्षय, बाढीपहिरो, नदी कटानलगायतका प्राकृतिक प्रकोपहरूबाट अति जोखिमयुक्त र संवेदनशील क्षेत्रको रुपमा रहेको छ । चुरे पहाडको भु–क्षय तथा पहिरोको कारणले उत्पन्न बाढीले तराईको उर्वराभूमि मरुभूमि बन्ने खतरा बढिरहेको छ । चुरे क्षेत्र तराईको जल पुनर्भरण क्षेत्र हो । चुरे क्षेत्र जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएकोले पारिस्थितिकीय प्रणाली संरक्षण तथा सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
३७ जिल्लामा फैलिएको चुरे क्षेत्र नेपालका करिव ६० प्रतिशत मानिसको जीवन पद्धतिसँग जोडिएको छ । जनसंख्याको चाप, गरीबी, अवैज्ञानिक खेतीप्रणाली, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहनजस्ता मानवीय कृयाकलापहरूको कारणले गर्दा यस क्षेत्रका प्राकृतिक श्रोतहरूको क्षयीकरण भइरहेको छ ।
चुरे क्षेत्रको प्राकृतिक श्रोतहरूको संरक्षण र सदुपयोग गरी चुरे क्षेत्रको वर्तमान अवस्थामा सुधार गर्ने, चुरे क्षेत्रमा भइरहेको वा हुनसक्ने सम्भावित क्षयीकरणलाई न्यूनीकरण गर्ने र स्थानीय जनताको जीवनस्तरमा सुधार गर्ने उद्देश्यका साथ चुरे पहाडको जलाधार क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र कायम गरी उक्त क्षेत्रको दिगो संरक्षण तथा व्यवस्थापन गर्न नेपाल सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको गठन गरेको हो । चुरेलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई नै प्रत्येक वर्ष चुरे दिवसको रूपमा मनाउने क्रममा आज हामी ११ औँ चुरे दिवस मनाउँदै छौँ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सिमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षारोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति जुन उद्देश्यअनुसार गठन भएको थियो त्यसअनुसार अझै उपलब्धि हासिल गर्न सकिएको छैन । तसर्थ यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी छ । चुरे संरक्षणको यति ठूलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुन्छ भन्ने कुरामा हाम्रो ध्यान जानुपर्दछ भन्ने मलाई लाग्छ ।
चुरे संरक्षणमा नेपाली सेनाको सहभागिता उपलब्धिमूलक रहँदै आएको छ । क्षतिग्रस्त क्षेत्रलाई वृक्षारोपण र संरक्षण गरेर हराभरा बनाउने र पानीको संरक्षणको लागि ठूला–ठूला पोखरी निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने जुन काम भएको छ, यसलाई अझै व्यापक बनाउनुपर्दछ भन्ने म ठान्दछु ।
चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिदैं चुरे संरक्षणसँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, संगठनात्मक संरचनामा सबलिकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने म देखिरहेको छु ।
अन्त्यमा, चुरे संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी पूरा गर्ने काममा क्रियाशील राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, वन तथा वातावरण मन्त्रालय, अन्य सम्बन्धित मन्त्रालयहरू, प्रदेश सरकार, स्थानीय निकायहरू, सुरक्षा निकाय, स्थानीय समुदाय, विकास साझेदार सबैलाई धन्यवाद दिंदै चुरे संरक्षणको “चुरेको माटो चुरेलाई, सफापानी सबैलाइर्” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने प्रेरणा सबैलाई मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।
जय नेपाल !
२०८२ असार २ गते सोमबार