सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षता गरिरहनुभएका लोकसेवा आयोगका अध्यक्ष

सम्माननीय प्रधानमन्त्री,

समितिका माननीय सभापति,

संवैधानिक निकायका प्रमुख एवम् आयोगका पदाधिकारी,

राष्ट्रसेवक कर्मचारी,

उपस्थित महिला तथा सज्जनवृन्द ।

देशको पुरानो संवैधानिक निकायका रुपमा रहेको लोक सेवा आयोग ७५औं वर्षमा प्रवेश गरेको अवसरमा आयोग परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्यतम कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले साढे सात दशकको अवधिमा आफ्नो मूल सिद्धान्त “योग्यता, निष्पक्षता र स्वच्छता” लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय पक्ष हो । आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ता प्रतिको आशा एवम् भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ ।

स्वउत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्‌भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई हामीले बिर्सन हुँदैन । आयोग सरकारी सेवामा कर्मचारी छनौट र भर्नाको जग हो । यसले सदैव असल र उम्दा कर्मचारी छनौट गर्न सक्ने गरी सकेसम्म योग्यताका सबै पक्षहरू पूर्वानुमान गर्न सकिने खालका परीक्षण विधिहरू अवलम्बन गर्नुपर्दछ ।

साथै यो प्रक्रियामा समयसापेक्ष सुधार गरी प्रभावकारी ढंगले अघि बढ्न जरुरी छ । कर्मचारी छनौट, बढुवा र परामर्शका क्षेत्रमा यसले आजसम्म गरेको योगदानसँगै आर्जन गरेको विश्वास, भरोसा एवम् प्रतिष्ठालाई कायम राख्दै अघि बढ्नेतर्फ आयोगले कुनै कसर बाँकी राख्ने छैन भन्ने मैले विश्वास लिएको छु ।

संविधानमा निजामती सेवाका विभिन्न पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवार छनौट गर्ने र सुरक्षा निकाय, अन्य संघीय सरकारी सेवा तथा संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन तथा बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त अनुरूप कार्य गर्दै आएको विदितै छ ।

साथै, कुनै संगठित संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून र त्यस्तो सेवाका पदमा बढुवा र विभागीय कारवाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा आयोगको परामर्श लिनुपर्ने व्यवस्था आफैमा महत्वपूर्ण छ । यसको कार्यक्षेत्र विकास एवम् विस्तारसँगै आफ्ना कार्य सम्पादनमा समयसापेक्ष प्रभावकारीता र गुणस्तर कायमै राखी अघि बढ्नुपर्ने चुनौतीतर्फ यसले विशेष ध्यान दिनुपर्ने आजको आवश्यकता हो ।

पछिल्लो समयमा आयोगले आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउदै कर्मचारी छनौटमा समयसापेक्ष परीक्षण विधि/प्रविधि अवलम्बन गर्नु प्रशंसनीय पक्ष हो ।

नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भए यता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु सकारात्मक पक्ष हो । यसबाट राज्यका नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्व हुन गई राष्ट्रिय एकतालाई मजबुत बनाउन समेत योगदान दिनेनैछ । आयोगले संघीयता अनुरूप समावेशी समूहतर्फ उम्मेदवार छनौट प्रक्रियालाई समयसापेक्ष परिष्कृत गर्दै यी समूहबाट थप उम्मेदवार सफल हुन सक्ने गरी कार्यसम्पादन गर्ने विश्वास मैले लिएको छु ।

हामीले अवलम्वब गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना भनेको उनीहरुको आकांक्षालाई सम्बोधन गर्दै तिव्र आर्थिक विकासलाई अघि बढाउनु हो । त्यसको पहिलो शर्त भनेको सुशासन नै हो । त्यसमा स्थायी सरकारकारुपमा लिइएको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरूप काम गर्नु समयको माग हो ।

अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सक्नुपर्छ ।  कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई विर्सन हुँदैन ।

अन्त्यमा, आज सम्मानित हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आगामी समयमा आयोगले आफ्नो दायित्व र जिम्मेवारीलाई थप विश्वसनीय बनाउनेतर्फ अझ प्रभावकारी ढंगले काम गर्नेनैछ भन्ने विश्वासका साथ हीरक जयन्ती कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८२ असार १ गते आइतबार