सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय विभूति भीमसेन थापाको २५०औं जयन्तीको अवसरमा गर्नुभएको सम्बोधन

अध्यक्ष महोदय,

उपस्थित महिला तथा सज्जनवृन्द !

नेपाल राष्ट्रको स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्ताको रक्षाको लागि जीवन समर्पित गर्नुहुने राष्ट्रिय विभूति भीमसेन थापाप्रति सर्वप्रथम भावभूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

गोरखा पिपलथोकमा जन्मनुभएका भीमसेन थापा नेपालको इतिहासमा एक महत्वपूर्ण व्यक्तिको रुपमा चिनिनुहुन्छ । सरदार पदबाट काजीमा पदोन्नतिपछि मुख्तियार र कमाण्डर इनचीफ समेत भएर ३१ वर्षसम्म देशको शासन सञ्चालन गर्नुभएका भीमसेन थापाको व्यक्तित्व बहुआयामिक थियो ।

उहाँ एक इमान्दार र कुशल प्रशासक हुनुहुन्थ्यो । इतिहासकारहरू उहाँलाई राष्ट्रवादी मात्र हैन क्षेत्रीय अखण्डताका प्रवर्तक पनि मान्दछन् । देशको राष्ट्रियता र सम्प्रभुतालाई कमजोर तुल्याउने प्रयासलाई उहाँले गम्भीरतापूर्वक सामना गरेको इतिहासमा स्पष्ट छ । यही कारणले गर्दा भीमसेन थापाको समयमा अंग्रेजसँग युद्धसमेत भयो । त्यस युद्धमा नेपालले ठूलो मूल्य चुकाउनु पर्‍यो । तैपनि भीमसेन थापाकै राष्ट्रवादी अडानका कारण नेपाल स्वतन्त्र रहन सक्यो ।

उहाँले आफ्नो शासनकालमा सामाजिक, आर्थिक र कानुनी क्षेत्रमा सुधार गरी सेनालाई आधुनिकीकरण गराउनेलगायतका कामहरू गर्नुभयो । कतिपय सामाजिक सुधारका कार्य अन्तर्गत कैयौ कुप्रथा र कुसंस्कारको अन्त्यमा योगदान दिनुभएका थापा एक प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो ।

वर्तमान इतिहासको जगमा उभिएको हुन्छ र, त्यही जगमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुन्छ । हाम्रा वीर पूर्खा र अग्रजहरूकै सुझबुझपूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौ ।

अनेकतामा एकता र भौगोलिक विविधता हाम्रो मौलिकपन हो । यही मौलिकपनले सदियौदेखि हामीबीच राष्ट्रप्रेमको भावनालाई जागृत र जीवन्त बनाउँदै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको छ भन्ने मलाई लाग्दछ । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबीच आपसी मित्रता, मेलमिलाप र सद्‌भाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता हो । राष्ट्रिय एकताको जगमानै जनचाहनाअनुरुप उत्पादन, रोजगारी र सुशासन कायम गरी हामीले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अझ सुदृढ र व्यवस्थित गरी आर्थिक रुपमा समृद्ध र विकसित नेपाल निर्माण गर्नेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्दछ भन्ने मलाई लागेको छ ।

नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाको लागि अमूल्य योगदान पुर्‍याउनुभएका एक राष्ट्रवादी एवम् स्वाभिमानी राष्ट्रसेवकको स्मृतिमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले पुरस्कार एवम् सम्मानको व्यवस्था गरेर उदारणीय कार्य गरेको ठानेको छु । यस वर्ष भीमसेन थापा पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित हुने मृगेन्द्र संझना चिकित्सा गुठीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।

प्रतिष्ठानले राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्दै नेपालको गौरवमय इतिहास कायम राख्न अमूल्य योगदान दिने वीरविरङ्गनाहरूको स्मरण गर्दै उनीहरूको स्मृतिमा गरेको कार्य प्रशंसनीय छ । प्रतिष्ठान आफ्नो लक्ष्य पुरा गर्न अग्रसर रहनेछ भन्ने अपेक्षा गर्दै प्रतिष्ठानको सफलताको कामना गर्दछु ।

जय नेपाल !

मिति : २०८१ साउन ९ गते