इद-उल-अज्हा (बकर इद) पर्व, २०८२ को शुभकामना सन्देश
मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदान प्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद-उल-अज्हाको नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।
विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाड पर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा साँस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवम् सहअस्तित्वका आधारमा आ-आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु । आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने मेरो विश्वास रहेको छ ।
अन्त्यमा, इद-उल-अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ जेठ २४ गते शनिबार ।
ने.सं. ११४५ तछलाथ्व एकादशी ।