विश्व वातावरण दिवस, (जुन ५) २०२५ को शुभकामना सन्देश
विश्व वातावरण दिवस (जुन ५) २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छौँ । आजको दिन हामी सबैले आ-आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीव जन्तुबीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा मैले लिएको छु ।
प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको छ । विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न म सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु ।
वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्ने तर्फ हामी सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा प्लाष्टिकको प्रयोगबाट हुने प्रदूषणलाई न्यूनीकरण गर्दै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरू एकजुट भई लागिपर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
वातावरण संरक्षण तथा सम्वर्द्धनको गहन अभिभारामा संलग्न सरकारी तथा गैर सरकारी निकाय एवम् विकास साझेदारलगायत सम्वद्ध सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा, वायु, जल र भूमि प्रदूषणबाट परिरहेको वातावरणीय असरलाई कम गर्न नेपालले विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिवद्धता कार्यान्वयनका लागि आजको दिनले थप एक्येबद्धता र उत्साह प्रदान गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।
जय नेपाल !
२०८२ जेठ २२ गते बिहीबार ।
ने.सं. ११४५ तछलाथ्व दशमी ।