सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय  दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१  गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउँदै आएका छौँ ।

नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण  गर्ने सङ्कल्प गरिएको छ ।

सोच, शैली, प्रथा एवम् सामाजिक प्रचलन तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याई आपसी एकता, मेलमिलाप तथा सद्‌भावको अभिवृद्धिबाट सामाजिक व्यवहारमा रहेको जातीय भेदभाव तथा छुवाछुत जन्य कार्यलाई न्यूनीकरण गर्न सकिन्छ ।

यस दिवसले आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका विभेद तथा उत्पीडनको क्रमश: अन्त्यका लागि महत्वपूर्ण आधारहरू निर्माण गर्न सम्बन्धित निकायहरूलाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात-जाति र समुदायबीच आपसी सद्‌भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछुत तथा विभेदको विरूद्ध दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन  सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका  सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज र संचारकर्मीलाई अझ बढी संवेदनशील हुन हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सुसँस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८२ जेठ २१ गते बुधबार ।

ने.सं.  ११४५ तछलाथ्व नवमी ।