सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सातौ राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सातौं राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को शुभकामना सन्देश

‘महिला अधिकारको सम्मान: आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक अधिकार सुनिश्‍चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु ।

वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकार सम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने विश्वास लिएको छु ।

महिलाको श्रम, सीप,  सिर्जनशीलता र क्षमतालाई विकास प्रक्रियामा मुलप्रवाहीकरण गरी आत्मनिर्भर बनाउन, स्रोत, साधन एवम्  अवसरमा समान पहुँच स्थापित गर्न र निर्णय प्रकियामा सहभागिता अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको छ । साथै, महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन राज्यको साथै  सबै नागरिकको सामूहिक प्रयास हुनु जरूरी छ ।

विभिन्न नीतिगत र कार्यगत प्रयास हुँदा हुँदै पनि महिलाहरू अद्यापि सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा पछाडि परेका छन् । कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजमा महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका भेदभाव एवम् हिंसाजन्य क्रियाकलापहरूको निराकरणको निम्ति राज्यका सम्पूर्ण संयन्त्र प्राथमिकतामा राख्न जरुरी ‍छ ।

अन्त्यमा, यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाहरूको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८२ साल जेठ १६ गते, शुक्रबार ।

ने.सं. ११४५ तछलाथ्व चतुर्थी ।