सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०८२ को शुभकामना सन्देश

सर्वप्रथम १८ औँ गणतन्त्र दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

आजको दिन हाम्रा लागि विशेष छ । यो दिन एक साधारण दिनमात्र हैन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो । नेपाली जनताको संघर्ष, त्याग र बलिदानबाट आजभन्दा ठिक १८ वर्षअगाडि २०६५ साल जेठ १५ गते हामीले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौँ । यो ऐतिहासिक दिनमा म गौरवमय परिवर्तनका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, लोकतन्त्रसहित न्याय, स्वतन्त्रता र परिवर्तनका लागि जेल, नेल र यातना सहने श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै विभिन्न आन्दोलनहरूका सारथी नागरिक समाज र राजनीतिक दलका कार्यकर्ताहरूको उच्च प्रशंसा गर्दछु ।

हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो । यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्भित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएका छौँ । अतः संसारमै योभन्दा उन्नत अर्को कुनै व्यवस्था छैन । यसकारण पनि कि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ । राज्यसत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ । हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान् उपलब्धिका रूपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ ।

संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको छ । यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको छ । यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ । किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो ।

परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त हुँदैन । राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो राज्यको चरित्रलाई बदल्नुपर्ने हुन्छ । हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।

अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्‍त गणतन्त्रलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्दछ । हामीले प्राप्‍त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्दछ । हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सिर्जनशील र जनउत्तरदायी हुनैपर्दछ । शासकीय संरचना र राज्यका अंगहरूलाई गतिशील र परिणाममुखी बनाउनैपर्दछ । हामीले सुशासनको प्रत्याभूति दिनैपर्दछ ।

जगजाहेर छ, आज गणतन्त्रको सबैभन्दा ठूलो शत्रु अरू कोही होइन– ढिलासुस्ती, अनियमितता र बेथिति हुन् । यिनै बेथितिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ । जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन ।

आज नागरिकले सुशासनसहितको समृद्धि खोजेका छन्, रोजगारी खोजेका छन्, न्यायोचित वितरण खोजेका छन् र  सामाजिक न्यायको प्रबन्ध खोजेका छन् । तर आर्थिक विकास बिना यी केही पनि सम्भव छैन । त्यसैले हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ । अनिमात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ । अनिमात्र आर्थिक विकास र समृद्धि प्राप्‍त हुन्छ । अनिमात्र गणतन्त्रलाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ । अनिमात्र नयाँ आशाहरू निर्माण हुन सक्छन् । अनिमात्र हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो ।

यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौँ ।  म आशा गर्छु, गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौँ । गणतन्त्र केवल एक व्यवस्था हैन । यो त आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो । यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन् । त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ । आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ । सबैलाई सुखद भविष्यको शुभकामनासहित !

जय नेपाल !

२०८२ जेठ १५ बिहीबार ।

ने.सं. ११४५ तछलाथ्व तृतीया ।