ग्याल्पो ल्होसार, २०८१ को शुभकामना सन्देश
शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा विविध कार्यक्रमहरू आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक खाप्सेलगायतका परिकार खाएर हर्षोल्लासका साथ मनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउँछ । संस्कृति, परम्परा र मान्यताहरूलाई अनुसरण गर्दै मनाइने ग्याल्पो ल्होसार लगायतका चाड पर्वहरूले पारिवारिक माया, सामाजिक सद्भाव एवम् एकता कायम राख्न योगदान पुऱ्याउँदै आएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने तथा यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ भन्ने मलाई विश्वास छ ।
अन्त्यमा, ग्याल्पो ल्होसार पर्वले हामी सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८१ फागुन १६ गते शुक्रबार ।
ने.सं. ११४५ चिल्लाथ्व पारु ।