महाशिवरात्री पर्व, २०८१ को शुभकामना सन्देश
महाशिवरात्री पर्व, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालभूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुहरूको लागि पनि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । तसर्थ, आराध्यदेव श्री पशुपतिनाथ एवम् किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको छ भन्ने मलाई लागेको छ ।
वैदिक परम्परामा शिवलाई मूलत: संहारका शक्ति मानिएको भएतापनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवम् संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको छ । रौद्र शक्तिले खराब रोजाईबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्व जस्तै महाशिवरात्रीले पनि बेजोड रूपमा प्रकट गरिरहेको पाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्री पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छ भने शिवरात्रीको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।
महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवम् धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवम् संवर्द्धन गर्न प्रण गर्नुपर्दछ । हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।
अन्त्यमा, महाशिवरात्री पर्व, २०८१ ले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी पुन: शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८१ फागुन १४ गते, बुधबार ।
ने.सं. ११४५ सिल्लागा त्रयोदशी ।