राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को शुभकामना सन्देश
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति पनि सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।
वि.सं. २००७ सालको क्रान्ति सफल भएर निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौं । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । वि.सं. २००७ को क्रान्तिको जगमा नै हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौं । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।
लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।
आजको यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।
अन्त्यमा, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८१ फागुन ७ गते बुधबार ।
ने.सं. ११४५ सिल्लागा सप्तमी ।