सहिद दिवस, २०८१ को सन्देश
सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
सहिद दिवस देशका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, पंचायती व्यवस्था तथा राजतन्त्र विरूद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गते यो दिवस मनाईदैँ आइएको छ ।
आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।
महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धान्जली हुने विश्वास लिएको छु ।
अन्त्यमा, वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकांक्षालाई साकार बनाउन हामी सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा लिएको छु ।
जय नेपाल !
२०८१ माघ १६ गते बुधबार ।
ने.सं. ११४५ प्वहेलागा औसी ।