माघे संक्रान्ति एवम् माघी पर्व, २०८१ को शुभकामना सन्देश
माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।
यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँदछन् भने तराईवासीले नहान अर्थात नुहाउने पर्वको रूपमा मनाउँदछन्। आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको छ । त्यस्तै घ्यू, चाकु, तरुल, तीलको लड्डु, सेलरोटी तथा खिचडी आदि परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचनल पनि छ।
यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्वहरू मनाउँदै साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा हाम्रो मुलुकलाई विश्व सामु परिचित गराउन महत्त्वूर्ण भूमिका रहनेछ भन्ने मलाई लाग्दछ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु ।
अन्त्यमा‚ माघे संक्रान्ति एवम् माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८१ माघ १ गते मङ्गलबार ।