राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८१ को शुभकामना सन्देश
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वि. सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णय बमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको हो । यस वर्ष पनि “सभ्य समाजको आधार; ज्येष्ठ नागरिकमैत्री घरपारिवर” भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी हामी यो दिवस मनाउन गइरहेका छौँ । ज्येष्ठ नागरिकहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत आदर, सम्मान र संरक्षण गर्न सके मात्र यो नारा सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ ।
अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज हुन् । तसर्थ, उहाँहरूको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, संघसंस्था तथा तीनै तहका सरकारहरूबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामुहिक प्रयास गर्न सबैमा म आग्रह गर्दछु । साथै, नेपाल सरकारले व्यवस्था गरेको स्वास्थ्य सेवा, यातायात सेवाका क्षेत्रमा तोकिएबमोजिम छुट, सहुलियतलगायत विभिन्न सेवा सुविधाको प्रभावकारीतामा वृद्धि गर्न सम्वद्ध सबैमा आव्हान गर्दछु ।
अन्त्यमा, माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित पुनः सम्पूर्ण ज्येष्ठ नागरिकहरूमा शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८१ पुस ११ गते बिहीबार ।
ने.सं. थिंलागा एकादशी ।