सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले उधौली पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

उधौली पर्व, २०८१ को शुभकामना सन्देश

किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गर्दछन् । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ । प्रकृतिसँग अभिन्‍न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको देखिन्छ ।

विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौली जस्ता चाड पर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको छ ।

अन्तमा, यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्‍वाससहित पुनःउधौली पर्वको शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८१ मङ्‌सिर ३० गते आइतबार ।

ने.सं. ११४५ थिंलाथ्व पूर्णिमा ।