सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना सन्देश

७६ ‌औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति एवम् समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्‍वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्‍वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष “Our rights, our future, right now” भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइदैछ ।

मानव अधिकारको विश्वव्यापी  घोषणापत्रमा उल्लेख भएका विषयहरू नेपालको संविधानले अवलम्बन गरी यसको विस्तार र विकास गर्न योगदान पुर्याएको छ । हाम्रो देश मानवअधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र समेत भएकाले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध एवम् संवेदनशील रहिआएको छ । यसैको फलस्वरुप नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यका रूपमा समेत निर्वाचित भएको छ ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक संघ, संस्थाहरू, सञ्चार माध्यमहरू तथा निजी क्षेत्रको सक्रियताले दूरदराजका र पिछडिएका गरीब, वन्चितिकरणमा परेका समुदाय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणले नसमेटिएका समुदायहरूको हक, अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउन सकेमा मात्र मानव अधिकार दिवसले सार्थकता पाउनेछ भन्ने मलाई लाग्दछ।

व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हो । आजको विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकहरूको मौलिक हकहरूको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनु पर्दछ ।

अन्तमा, यस दिवसले सबै पक्ष र निकायलाई मानव अधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८१ मङ्‌सिर २५ गते मङ्गलबार ।

ने.सं. ११४५ थिंलाथ्व दशमी ।