विवाह पञ्चमीको शुभकामना सन्देश
त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको छु ।
अन्त्यमा, प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्दै सबै नेपालीहरूमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८१ मङ्सिर २१ गते शुक्रबार ।
ने.सं. ११४५ थिंलाथ्व पञ्चमी ।