सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

३३ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश

अपाङ्‍गता  भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका अपाङ्‍गता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्‍गता  भएका नागरिकहरूको हक अधिकार प्रवर्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्‍गता  भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार” भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी यस दिवस मनाइदैंछ ।

नेपालको संविधानले अपाङ्‍गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गर्नुका साथै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा विभेदरहित आर्थिक रुपले समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ । अपाङ्‍गताको आधारमा गरिने विभेदलाई निषेध गर्दै उहाँहरूलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने  संविधानको मर्म हो ।

संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्‍गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गर्न आवश्यक छ । साथै, अपाङ्‍गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी/सार्वजनिक एवम्  निजी संरचनाहरूमा पनि उहाँहरूको आवश्यकता अनुसारको भौतिक संरचना निर्माण गरी आवतजावतमा सुविधा पुर्याउनु पनि आजको अनिवार्य आवश्यकता हो ।

अपाङ्‍गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनाहरूमा परिवर्तन ल्याई यस क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरूको कार्यलाई व्यवस्थित बनाई सेवा प्रवाहमा सरलता  एवम्  एकरूपता ल्याउन तथा अपाङ्‍गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउने कार्यलाई प्राथमिकतामा राखेर कार्य गर्ने विषयमा सम्बन्धित निकायको ध्यान जान जरूरी ठानेको छु ।

अन्त्यमा, आजको यस महत्वपूर्ण दिनले सम्पूर्ण अपाङ्‍गता भएका व्यक्तिहरू, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू, नेपाल सरकार एवम् अभिभावक समूह, नागरिक समाजलगायत यसमा आवद्ध सबैलाई अपाङ्‍गता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहने  प्रेरणा एवम् उर्जा मिलोस् भन्ने कामना सहित पुन: शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८१ मङ्सिर १८ गते मङ्गलबार ।

ने.सं. ११४५ थिंलाथ्व द्वितीया ।