छठ पर्व, २०८१ को शुभकामना सन्देश
छठ पर्व, २०८१ को पावन अवसरमा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।
सूर्य देवता र छठी माताको पूजा, अर्चना र व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम बसी धुमधाम तथा हर्षोल्लासका साथ यस पर्व मनाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रध्दा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय हो ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाईने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ । भेदभाव विना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो पर्व मनाइन्छ ।
यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुगोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८१ साल कात्तिक २२ गते बिहीबार ।
ने.सं. ११४५ कछलाथ्व षष्ठी ।