सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले तिहार पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तिहार पर्व, २०८१ को शुभकामना सन्देश

नेपालीहरूको दोस्रो महान् चाड तिहार, २०८१ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । नेपालमा मनाइने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा वाध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरू मध्ये दसैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाध्ने गरेको छ । बडा दसैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाईन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ ।

मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धका स्वरूप  गोवर्द्धन  पर्वत, मानव र अन्य जनावरबीचको सुमधुर सम्बन्धलाई स्थापित गर्न काग, कुकुर, गाईलगायत जनावर एवम् पंक्षीको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजुभाइ बीचको अक्षुण्ण सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिन्छ । गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्त्वपूर्ण कडीका रूपमा पनि यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्हपूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्त्वपूर्ण पक्ष हो ।

पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र  प्रकाशको पर्व पनि हो ।  त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको विम्ब हो । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्‍ने कामना गर्दछु ।

अन्त्यमा, तिहार पर्वले हामी नेपालीहरूबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८१ साल कात्तिक १५ गते, बिहीबार ।

ने.सं. ११४४ कौलागा चतुर्दशी