गौरा पर्व, २०८१ को शुभकामना सन्देश
गौरा पर्व, २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको “बिरुँडा” अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ ।
यस पर्वको अवसरमा स्थानीयहरू गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दु:ख, सुख बाड्ने गर्दछन् । साथै, यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति-पत्नी बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकोले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको छ । हाम्रो समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएका छन् भन्ने मलाई लाग्दछ ।
अन्त्यमा, यस साँस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीहरूमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८१ भदौ १० गते सोमबार ।
ने.सं. ११४४ गुँलागा ७ सोमबार ।