२१ औं राष्ट्रिय धान दिवस, २०८१ को शुभकामना सन्देश
२१ औं राष्ट्रिय धान दिवस, २०८१ को अवसरमा सम्पूर्ण नेपाली कृषक दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले विक्रम सम्वत् २०६१ देखि प्रत्येक वर्ष आषाढ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिनु खुशीको विषय हो । यस वर्ष ‘‘जलवायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि’’ भन्ने राष्ट्रिय नाराका साथ २१ औं राष्ट्रिय धान दिवस, २०८१ मनाइरहेका छौँ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धान खेती हाम्रो समाज र जीवनसँग अभिन्न भएर रहेको छ । त्यति मात्र होइन यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, साँस्कृतिक एवम् धार्मिक महत्व पनि राख्दछ ।
जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरूक बनाई हाम्रो माग अनुसारको धान उत्पादन एवम् उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ ।
नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिको लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु ।
नेपालको धान खेती आकासे सिचाइँमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिचाइँ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु । कृषि क्रान्तिको पहिलो कदम सिचाइँ सुविधा हो । त्यही भएर आधुनिक खेती प्रणाली मार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिचाइँ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बिउ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी छ ।
धान एवम् चामल आयात वर्षेनी बढ्दै जानु चिन्ताको विषय हो । जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ । हाम्रो श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौंका संख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद हो । कृषिलाई आकर्षक पेशाकोरुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेश मै रोक्ने पहल गरौं भन्ने मेरो आग्रह छ । साथै, खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रुपमा लिई खाने बानी परिवर्तन गरेर अन्य बालीलाई समेत प्रवर्धन गर्न हामीले उत्तिकै ध्यान दिनु जरुरी छ ।
अन्त्यमा, धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा देओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८१ असार १५ गते शनिबार ।