कार्यक्रमका अध्यक्षज्यू,
उपस्थित महिला तथा सज्जनवृन्द !
यस बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८० को समुद्घाटन समारोहमा उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ । कृषकहरूको उत्पादन, कृषिका लागि आवश्यक औजार, बिउबिजन, प्रविधि आदिको प्रदर्शनीसहित नवीनतम् प्रविधिसम्बन्धी अन्तरक्रिया तथा प्राविधिक बहससहित आयोजना गरिएको यस महोत्सवको सर्वप्रथम म सफलताको कामना गर्दछु ।
काभ्रेपलाञ्चोक जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो । कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा यस महोत्सवले महत्त्वपूर्ण योगदान दिने मैले विश्वास लिएको छु ।
कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्ने आजको आवश्यकता हो भन्ने मलाई लागेको छ ।
बढ्दो सहरीकरणको प्रभावबाट छायामा परेका पौष्टिक महत्त्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी छ भन्ने मलाई लाग्छ ।
विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र उखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकाडोजस्ता हाई भ्यालु फ्रुट (High value fruit) को विकासमा जोड दिनुपर्दछ भन्ने पनि मलाई लाग्छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्दत पुग्छ भन्ने पनि मलाई लाग्छ ।
राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै हो । मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी छ ।
निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ । मूलत: कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औद्योगीकरणको मार्गप्रशस्त गरी आर्थिक रूपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौँ जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि हो भन्ने मलाई लाग्दछ ।
अहिलेको आईसीटीको युगमा कृषि प्रविधिसम्बन्धी जानकारी, बजारको अवस्था, रोग, किरा, मौसमको जानकारीलगायत आवश्यक प्रविधि प्रचारका लागि आईसीटीको उपयोग गरी सम्पूर्ण सूचनाहरू देशभरिका कृषकलाई मोबाइलमार्फत उपलब्ध गराउने व्यवस्थाको खाँचो छ ।
हालै प्रकाशित भएको चौथो जीवनस्तर सर्वेक्षणमा ५९ लाख जनसङ्ख्या गरिबीको रेखामा परेका छन् । यी गरिबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु ।
विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरण निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने मैले महसुस गरेको छु । कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बिउबिजन र मल आपूर्ति, नवीनतम औजार/उपकरण/यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषय हुन् भन्ने मलाई लागेको छ । परम्परागत कृषि प्रणालीको अन्त्य गरी नवीनतम उच्च प्रविधि, उपकरण, गुणस्तरीय बिउबिजन र व्यावसायिकताको उच्चतम अभ्यासद्वारा औधोगीकरणतर्फ उन्मुख हुन अब हामीले किमार्थ ढिला गर्न हुँदैन ।
अन्त्यमा, यस महोत्सवका आयोजकहरूको सक्रियताका लागि विशेष धन्यवादसहित महोत्सवको सफलताको कामना गर्दछु ।
जय नेपाल !
२०८० फागुन ४ गते