एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिका संयोजकसमेत रहनुभएका माननीय परराष्ट्रमन्त्री, माननीय मन्त्रीहरू,
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न मुलुकबाट आउनुभएका गैरआवासीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
उपस्थित महिला तथा सज्जनवृन्द !
“नेपालीका लागि नेपाली” भन्ने मूल नारा तथा ‘ज्ञान र रूपान्तरण: समृद्धिको आधार’ भन्ने विषयमा केन्द्रित भई आयोजना गरिएको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलनको उदघाट्न गर्न पाउँदा खुसी लागेको छ ।
मलाई आमन्त्रण गरेर आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु।
नेपाल र नेपालीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली सङ्घले विगतदेखि नै भूमिका खेल्दै आएको छ र आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्नेछ भन्ने मेरो विश्वास छ । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो ।
शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनुहुन्छ भन्ने तपाईँहरूको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ । यही आत्मीयताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ । यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईँहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु।
राजनीतिक परिवर्तनपश्चात् देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ तर सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरू पनि देखा परेका छन् ।
यी चुनौतीको जराबारे मैले सधैँ भन्ने गरेको कुरा तपाईँहरूसमक्ष पनि उल्लेख गर्न चाहन्छु, हामीले राज्यको प्रशासनिक पुनर्संरचना त गर्यौँ तर राज्यको चरित्र र जीवन पद्धतिको पुनर्संरचना अझै हुन बाँकी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्यमान्यता, सिद्धान्त र दर्शन छन् । जबसम्म ती मूल्यमान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात् गर्न सक्दैनौँ तबसम्म ती चुनौतीहरूको सामना गर्न सक्दैनौँ ।
म तपाईँहरूलाई नेपालको आर्थिक सम्भावना र तपाईँहरूको सहभागिता सम्बन्धमा केही भन्न चाहन्छु । हामी सबैलाई थाहै भएको कुरा हो कि एकातर्फ नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसङ्ख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् ।
यसबीच नेपालको आन्तरिक उपभोगका साथै क्रयशक्तिसमेत दिनानुदिन बढिरहेकै छ। यस्तो अवस्थामा नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगीकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित भएको छ । यसका लागि बहुपक्षीय साझेदारी अत्यावश्यक तत्त्व हो । त्यसमा तपाईँहरूले आर्जेको पुँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी साबित हुन सक्छन् । विगतमा तपाईँहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र सङ्गठित रूपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको छ ।
यस अवसरमा म वैदेशिक रोजगारीका क्रममा विदेशमा रहनुभएका युवाहरूलाई पनि सम्झन चाहन्छु, जसको पसिनाले पठाएको विप्रेषण (आय) ले अहिले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ । भुक्तानी सन्तुलनलाई नेपालको पक्षमा राख्न तथा आन्तरिक आवश्यकता पूरा गर्न तपाईँहरूको आय नि:सन्देह नै सहयोगी भएको छ ।
नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्नुहोस् र तपाईँहरू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीका लागि अभिप्रेरित गर्न म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु । नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको पनि शिर उँचो हुनेछ । नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन । त्यसैले नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगत्मा प्रतिष्ठा बढाउन तपाईँहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ ।
दाजुभाइ तथा दिदीबहिनीहरू,
तपाईँहरूप्रति नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाहरूको तर्जुमा गरेको छ । हालैको नागरिकता विधेयक त्यसमध्येको एक हो । नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट तपाईँहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ ।
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक हो । यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन्। प्रकृति र संस्कृतिको यो अनुपम सङ्गमलाई जोगाउँदै देश र जनताको हित प्रवर्द्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य हो ।
मेरा भनाइहरू टुङ्ग्याउने क्रममा तपाईँहरूको दुई महत्त्वपूर्ण विषयहरूप्रति ध्यानाकर्षण गराउन चाहन्छु । पहिलो, नेपालबाहिर रहेर जीवनयापन गर्दै गर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भुल्ने सम्भावना रहने हुँदा त्यसप्रति तपाईँहरू सचेत हुनुपर्दछ । नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समयसमयमा नेपाल ल्याई यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइरहनुहोला।
दोस्रो, नेपालको प्राकृतिक सुन्दरता र दुर्लभ स्रोतहरूको सम्बन्धमा हो । नेपालमा विश्वप्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाडहरू मात्रै छैनन्, एकातिर यहाँ दुर्लभ जैविक विविधता पाइन्छ भने अर्कोतर्फ हिउँले भरिएको पहाडहरू पिउने पानीको मुहानका रूपमा परिचित रहेका छन् । दुर्भाग्यवश, विश्वव्यापी जलवायु परिवर्तनको दुष्प्रभावले गर्दा हाम्रा मूल्यवान् प्राकृतिक स्रोतहरू सङ्कटमा पर्न थालेका छन् ।
आजको हाम्रो चुनौती कसरी जैविक विविधता पर्यावरणलाई सुरक्षित राख्न सकिन्छ भन्ने पनि हो । तसर्थ यी क्षेत्रहरूमा पनि गैरआवासीय नेपालीले आफ्नो योगदान कसरी पुर्याउन सक्छन् त्यो मेरो पनि चासोको विषय हो।
साथै नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकसित गर्ने एउटा योजनातर्फ पनि म तपाईँहरूको ध्यान आकर्षित गर्न चाहन्छु ।
अन्त्यमा, एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले तपाईँहरूको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनेछ, नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेछ, नेपालको विकास र समृद्धिको बाटोमा तपाईँहरूको रणनीतिक साझेदारीलाई थप स्पष्ट र विस्तारित गराउनेछ भन्ने विश्वास गर्दै यस विश्व सम्मेलनको उपलब्धिपूर्ण सफलताको कामना गर्दछु ।
जय नेपाल !
३० असोज २०८० (१७ अक्टोबर २०२३)
सोल्टी होटल, काठमाडौँ ।