शतवार्षिकी समारोह एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू,
माननीय मुख्यमन्त्रीज्यू,
उपस्थित महिला तथा सज्जनवृन्द !
सर्वप्रथम म पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहका अवसरमा यहाँका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सहयोगदाता एवम् शुभेच्छुकहरूमा यस ऐतिहासिक क्षणमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
तनहुँ जिल्लामा यति लामो इतिहास भएका स्कुल कमै होलान् । राणाकालको त्यो जमानामा पनि पहाडको यस्तो गाउँमा स्कुल स्थापना गरेर शिक्षाको ज्योति फैलाउने हाम्रा अग्रज धन्य छन् । सर्वप्रथम म तिनलाई नमन गर्दै श्रद्धासुमन अर्पण गर्दछु । यो विद्यालयलाई अहिलेसम्म धानेर ल्याउने तिनका उत्तराधिकारीलाई पनि धन्यवाद दिन चाहन्छु ।
शिक्षा ज्ञान, चेतना र देशको सर्वाङ्गीण विकासको आधारशिला पनि हो । शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता हो । सीप र आचरणबिनाको नागरिकबाट देश समृद्ध हुन सक्दैन । त्यही भएर सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर वृद्धि गरी सीपवान् र शीलवान् नागरिक बनाउन हामी सबैको ध्यान जानुपर्छ भन्ने मलाई लाग्छ ।
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरूपको शिक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरूपको शिक्षा प्रदान गर्नेतर्फ अबका हाम्रा कदमहरू केन्द्रित हुनुपर्छ ।
अहिले यहाँ पढ्ने र पढाउने दुवैथरी मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर पस्नुभो । उतै बस्नुभयो । गाउँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रमशक्तिको पलायन मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ ।
मैले यसै क्षेत्रबाट पहिलोचोटि चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर भनेको थिएँ, “गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाउँमा नै बसौँबसौँ बनाउँछु ।”
म मन्त्री भएपछि ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर बाटो र स्वास्थ्य चौकी अनि सातौँ विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेँ पनि । अहिले हाम्रा सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको छ । तर पनि गाउँ रित्तिने क्रम टुटेको छैन ।
अबका दुईचार वर्षमा यी सबै गाउँहरूमा कालोपत्रे सडक पुर्याउन हामी लागेका छौँ। म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने हाम्रो हालत छ ।
आखिर किन भयो यस्तो ? यो प्रश्न म आफैँसँग गरिरहेको छु । उत्तर पनि म सँगै छ। गाउँमा सबैथोक पुग्यो तर “सम्मानजनक रोजगारी र आम्दानी” को अवस्था बनेन।
अर्कोचोटि बैदी–छिपछिपेको डाँडा र मादी, सेती, काली किनारमा उभिएर भनेको थिएँ- “यो देशको समृद्धिका मुख्य आधार- कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास, यिनै तीन वटा हुन् । त्यसका लागि पहिलो खाँचो सुशासनको छ ।”
म त्यही एजेन्डामा आज पनि उभिएको छु । हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यिनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।
हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, बायो डाइभर्सिटी छ । त्यसलाई हामीले चिन्न सकेनौँ । हामी फोस्रा नारामा बढी बहकियौँ । कुन उचाइ र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौँ । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौँ । हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरौँ । गाउँमै रोजगारी र आम्दानी आउँछ ।
हिमालबाट उर्लेर बग्ने हाम्रा नदीनालाबाट हजारौँ मेगावाट ऊर्जा उत्पादन गरी छिमेकमा समेत बिक्री गरौँ, हामी यहीँबाट धनी हुन्छौँ । आफ्नो परिवार तड्पाएर विदेशतिर भौँतारिन पर्दैन । आफ्नै नाभीको कस्तूरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन । आफैँले आफैँलाई चिनौँ – गाउँमुखी बनौँ – नेपालमुखी बनौँ, हाम्रो स्कुलमा पढाउने यही नै हो असली राष्ट्रवाद ।
अन्त्यमा, यस विद्यालयको वार्षिकोत्सवको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८० साल पुस २० गते