त्रिभुवन विश्वविद्यालयका कुलपति तथा सम्माननीय प्रधानमन्त्रीज्यू,
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यू,
शिक्षाध्यक्ष एवम् रजिस्ट्रारज्यू,
आमन्त्रित महानुभावहरू,
अभिभावक तथा दीक्षित हुनुहुने छात्रछात्राहरू,
महिला तथा सज्जनवृन्द !
त्रिभुवन विश्वाविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहमा उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ । यस गरिमामय समारोहमा आमन्त्रण गरी प्राज्ञिक वर्ग तथा देशको भविष्यका कर्णाधार प्रिय विद्यार्थी समुदायसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नुहुने विश्वविद्यालय परिवार धन्यवादका पात्र हुनुहुन्छ । आज दीक्षित हुन लाग्नुभएका तपाईँ सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै तपाईँहरूबाट वरद नेतृत्वमा देशले चौतर्फी उन्नति र प्रगतिको बाटोमा अगाढि बढोस् भन्ने सबैमा मेरो शुभकामना छ ।
राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने कुरा निर्विवाद छ । कुनै पनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सीप र प्रविधिको विकास र प्राप्तिमा निर्भर हुन्छ । आफ्नो योजनाबद्ध विकासको अनुभवबाट संसारका विकसित र विकासशील मुलुकहरूले यो कुरा सिद्ध गरिसकेका छन् । यसलाई अझ प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षा समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष नीति अँगाल्नु जरुरी छ ।
राष्ट्रको इतिहास र संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाइराख्ने दायित्व पनि त्रिविलाई छ । अझै पनि राष्ट्रको करिब ८० प्रतिशत विद्यार्थी भार लिएर निरन्तर क्रियाशील रहनु त्रिवि सम्बद्ध सबैका लागि खुसीको विषय हो ।
शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ । देश परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईँ हामीहरूले नै गर्नुपरेको छ । नालन्दादेखि सुरु भई हालसम्मका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र कर्मचारीका सामुन्ने हामीले हासिल गरेको ज्ञान प्रज्ञान, कला कौशल, सिप र क्षमताबाट हामीले लघुताबोध गर्नु हुँदैन भन्ने मेरो मान्यता छ । राष्ट्रिय सत्चरित्र निर्माणका माध्यमबाट राष्ट्र निर्माण र राष्ट्रहितप्रति समर्पित भई उपलब्धि हासिल गर्नुमा नै यस जेष्ठ विश्वविद्यालयको स्थापना र यसमा सञ्चालित प्राध्यापन र अध्ययनको औचित्य पुष्टि हुन्छ । विद्वान् सर्वत्र पुज्यते एवम् अप्प दीपो भव: का भावबाट प्रवृत्त भई गरिने हरेक कर्मबाट सिर्जित प्रतिफल नै अध्ययन-अध्यापनको मूल सार हो ।
उपस्थित प्राज्ञिक वर्ग एवम् प्रिय विद्यार्थीहरू,
तपाईँहरूलाई पनि जानकारी भएकै हो- लिग अफ नेसन्स -league of nations) को असफलतापछि संयुक्त राष्ट्रसङ्घको जन्म भयो । द्वितीय विश्वयुद्धको समाप्तिपश्चात् व्यवहारमा आएको संयुक्त राष्ट्रले आज ७८ वर्ष पूरा गरेको छ । तर यताका दशकहरू अस्थिरता र द्वन्द्वउन्मुख देखिन्छन् । यस्तो सांसारिक पृष्ठभूमिमा हाम्रो देशमा नेपाली जनताको दु:ख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्थाको स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ । हाम्रो राष्ट्रिय एकताका लागि यो अत्यन्तै महत्त्वपूर्ण पक्ष हो भनेर हामीले बुझ्न जरुरी छ ।
वर्तमान युगमा शिक्षाबिनाको समाजको कल्पना पनि गर्न सकिँदैन । त्यसैले शिक्षा विकासका लागि पर्याप्त नभए पनि नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । त्यसैको प्रतिफल र तपाईँहरूको परिश्रमसमेतका कारण आज तपाईँहरू यो स्थानमा हुनुहुन्छ । तपाईँहरूमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ । राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व, केही कर्तव्य छ । यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नु हुने छैन भन्नेमा पनि म आशावादी छु । साथै, तपाईँहरूले प्राप्त गर्नुभएको ज्ञान, सिप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ र एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि आज दीक्षित हुने तपाईँ छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु ।
प्रिय विद्यार्थीहरू,
आजको दिन तपाईँहरूका लागि अविस्मरणीय दिन हो । विद्यार्थी जीवनमा यस्तो दिन पटक-पटक पुनरावृत्ति हुँदैन । आज तपाईँहरूको अनुहारमा मैले नेपालको सुन्दर अनुहार प्रतिविम्बित भइरहेको पाएको छु । तपाईँहरूले प्राप्त गरेको ज्ञान र सिप र दक्षता बोकेर उत्पादनशील कार्यका लागि जाँदै हुनुहुन्छ । भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईँहरूकै हातमा छ । देशबाट मैले के पाएँ भन्दा पनि मैले देशलाई के दिएँ, के दिँदै छु वा भविष्यमा के योगदान गर्न सक्छु भन्ने कुराको सकारात्मक सोच तपाईँहामीमा आउन सकोस् । आजको पवित्र दिनले हामीलाई देश र जनताप्रति समर्पित हुने भाव पैदान गर्न प्रेरित गरोस् । म यही कामना गर्दछु ।
आजको यस प्रतिस्पर्धात्मक पर्यावरणमा तपाईँहरूले व्यहोर्नुपरेको चुनौतीप्रति राष्ट्र अनभिज्ञ छैन । एकातिर पढाइमा अब्बल बन्नुपर्ने दबाब अभिभावक र समाजबाट हुन्छ भने अर्कोतर्फ आकर्षक रोजगारी पाइन्छ कि पाइन्न भन्ने चिन्ता पनि रहिरहन्छ । यस प्रकारको अवस्थाले हाम्रा भविष्यका आशाहरू मानसिक तनावमा परिरहेका छन् । यस्तो अवस्थाको अन्त्य अत्यन्तै आवश्यक छ भन्ने मलाई लाग्दछ ।
नेपाल यस क्षेत्रकै सन्दर्भमा पनि सभ्यता र संस्कृतिको सङ्गमस्थलका रूपमा रहेको छ । यो हाम्रा लागि अवसरका साथै शक्ति पनि हो । बुद्ध र सीताको पवित्र यस भूमिलाई पदार्थवादी संस्कृतिमा डुबेको संसार अनुकूल बनाउन सक्नुपर्छ । सभ्यता र संस्कृतिको महत्त्वबारे कुरा गर्दा यससँग सम्बन्धित एउटा अर्को पक्षप्रति पनि तपाईँहरूको ध्यानाकर्षण गराउन चाहन्छु । नेपालको अन्तर्राष्ट्रिय पहिचान र हाम्रो जलवायुलाई स्थिर राख्ने कार्य नेपालका उच्च पहाड, खासगरी सगरमाथाले गरेको छ । तर विश्वको बढ्दो तापमानले गर्दा हाम्रो सभ्यताको प्रतीक हिमशिखर र सगरमाथा कालो पहाडका रूपमा परिणत हुँदैछन् । स्मरण रहोस्, नेपाल सरकारले न केवल पेरिस सम्झौता २०१५ अपितु २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्य तहमा झर्ने प्रतिबद्धता राखेको छ । यसप्रति सबैको चासो र चिन्ता रहिरहन आवश्यक छ ।
अन्त्यमा, विश्वविद्यालयको यस उनन्चासौँ दीक्षान्त समारोहमा सहभागी छात्रछात्राहरूलाई पुन: एकपटक हार्दिक बधाई दिँदै सफल र सुखद र सफल भविष्यको कामना गर्दछु ।
जय नेपाल !
रामचन्द्र पौडेल
राष्ट्रपति
२०८० पुस ३ गते मङ्गलबार