सम्माननीयहरू,
यहाँ उपस्थित विशिष्ट महानुभावहरू तथा
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नेपालको संवैधानिक इतिहासमा आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । यो गौरवमय क्षणमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
साथै, आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई आफूद्वारा आफैँ शासित हुने परिवर्तनका पक्षधर एवम् लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई यस अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु ।
संविधान दिवसको यस ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस वर्ष हामीले संविधान दिवस मनाउँदै गर्दा देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा छ । कैयौँ नेपालीले प्रियजन, घर र जीवनको सहारा गुमाउनुभएको छ । म यस दुःखद घडीमा दिवङ्गत आत्माहरूप्रति पुनः श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको खोज एवम् पहिचानको कामना पनि गर्दछु । साथै, गएको अगस्ट २६ को कहालीलाग्दो बाढीबाट प्रभावित मित्रराष्ट्रका नागरिकहरूको क्षतिप्रति नेपालको तर्फबाट उनीहरूका परिवारजन तथा सरकारहरूमा गहिरो समवेदना तथा सहानुभूति प्रकट गर्दछु ।
आजको दिन विपद्को पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन हो । यो विपत्तिले हामीलाई सम्झाएको छ-विकास केवल सडक, पुल र भवन होइन; मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो । यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ । हाम्रो संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा जोडिएको छ भन्ने हामीले कहिल्यै बिर्सनहुन्न । जलवायु परिवर्तनका चुनौतीबीच हाम्रो विकासका ढाँचाहरू अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बन्नुपर्छ भन्ने पनि म ठान्दछु ।
मुलुकको संवैधानिक विकासक्रममा यस जननिर्मित संविधानले हामीलाई लोकतन्त्र दिएको छ । हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौँ । यो संविधानले हामीलाई प्रदेशहरू दिएको छ । हामीले आफ्नो प्रदेशलाई शान्त, भव्य र व्यवस्थित बनाउने अवसर प्राप्त गरेका छौँ । एकात्मक र केन्द्रीकृत शासनप्रणालीको बदलामा प्राप्त सङ्घीयता हाम्रा लागि संविधानले दिएको महत्त्वपूर्ण उपहार हो । तर, यसलाई हामीले अवसरका रूपमा उपयोग गरी देश विकासको अनिवार्य तहका रूपमा विकास गर्न जरुरी छ । हामीलाई यो संविधानले बहुलवादमा आधारित समावेशी नेपाल बनाउने अवसर दिएको छ । हामीले यो संविधानमार्फत राज्यको शासकीय संरचनालाई नयाँ ढङ्गले स्थापित गरेका छौँ । संविधानले प्रदान गरेका यी महान् उपलब्धिहरू हुन् । यिनै उपलब्धिहरूका जगमा नै हाम्रो भविष्यको सुखद यात्रा सुनिश्चित हुन्छ भन्ने मेरो दृढ विश्वास छ ।
हामीलाई थाहा छ, संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्ताबेज मात्र होइन, यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो । यसको महत्त्व त्यतिबेला प्रकट हुन्छ, जब राज्य नागरिकको आर्तनादसँगै उभिन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नुपर्दैन । यसका लागि हामीले देशको मूल कानुन संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आमजनताको जीवनमा स्थापित गर्न सक्नुपर्दछ । जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ । संरचनागत लाभांशको परम्परागत चरित्रलाई तोडेर सबैलाई समान हक, अधिकार, सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी यो सम्भव छैन ।
अतः हाम्रा सबै तहका सरकारहरूले यसमा ध्यान दिऊन् भन्ने म चाहन्छु । हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन् । यसका लागि आउनुहोस्, आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ । हामीले अनेकौँ सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संविधानको साँचो अर्थ त्यही दिनमा बोध हुनेछ जुन दिन कुनै नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने छैन ।
राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ । जसले नागरिकमा आशा जगाउन सकोस् । नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ न त व्यवस्था । किनभने, हामी सबैले बुझ्नुपर्छ, शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन् । यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन ।
अतः आजको दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।
जय नेपाल !
२०८३ साल असोज ३ गते ।

