सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीय उपराष्ट्रपतिज्यू,

सम्माननीय प्रधानमन्त्रीज्यू,

सम्माननीय प्रधानन्यायाधीशज्यू,

सम्माननीय प्रतिनिधिसभाका सभामुखज्यू,

सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू,

यहाँ उपस्थित विशिष्ट महानुभावहरू तथा

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना ।

आज दशौँ संविधान दिवस मनाइँदै गर्दा, म सबैभन्दा पहिले लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूका साथै यही भदौ २३ र २४ गते युवा पुस्ताद्वारा गरिएको प्रदर्शनमा जीवन गुमाउनुहुने युवासहित सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । साथै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । प्रर्दशनका क्रममा सार्वजानिक एवम् निजी सम्पति, औद्योगिक एवम् व्यापारिक प्रतिष्ठान तथा राष्ट्रिय सम्पदामाथि हुन गएको अकल्पनीय विध्वंस र क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु ।

यी दुई दिनमा मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको छ । छोराछोरीको एउटा अभिभावकका रूपमा म जीवन गुमाउने ती युवाहरूका बुवाआमाको पीडा अनुभव गर्न सक्छु र त्यस क्रममा भएको राष्ट्रको अपार जनधनको क्षतिको पनि अनुमान गर्दछु । राष्ट्रको अभिभावकका रूपमा मुलुकले ती कर्णाधार युवाहरू गुमाउँदाको क्षति अनुभूत गर्न सक्छु । आज संविधान दिवसका दिन म ती सारा युवाहरूको जागरुकता र सदिच्छा स्मरण गर्न चाहन्छु, जो मुलुकमा थिति बसोस् र राष्ट्रको भविष्य उज्ज्वल होस् भनेर भदौ २३ गते सडकमा आएका थिए ।

हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने मेरो दृढ विश्वास छ । म आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको थिएँ । परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ । र सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ । लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहनाअनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो हामी सबैले मिलेर गरेका छौँ । मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ । नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो ।

प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले यो कदम चालिएको कुरा सबैले बुझौँ र ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै लागौँ ।

यो घडीमा म सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व होइन पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्दछु ।

यो संविधानले नेपाली जनतालाई सर्वभौसत्ता र स्वतन्त्रता दिएको छ । सबै जात, धर्म र सम्प्रदायका जनतालाई समान हक दिएको छ । र, समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ । र, हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ । यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गरौं ।

आजको सन्दर्भमा सुशासन, बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके मात्र संविधानले परिकल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव छ । जेन्जी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथितिको अन्त्य होस्  भन्ने कुरालाई सबैले मनन् गरौँ र सुध्रिएर अघि बढ्ने अठोट गरौं ।

हामी सबैलाई थाहा छ, हाम्रो संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको छ । यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिन्छ । त्यसका लागि हाम्रो संविधानले सदैव मार्गदर्शन गर्दछ । सबैलाई थाहा छ कि हाम्रो संविधानले लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य लिएको छ । यो लक्ष्यका लागि राज्यबाट प्राप्त हुने सेवासुविधा र अवसरमा समान पहुँच कायम गर्नु, सामाजिक सुरक्षा सुनिश्चित गर्नु र समावेशी विकासलाई गति दिनु आजको मुख्य आवश्यकता हो ।

आजको दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई व्यवहारमा उतार्ने पुनः प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

साथै, राजनीतिक दल, सरकार, राज्यका निकाय र आमनागरिक सबै मिलेर हाम्रो संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाउँदै नेपाली नागरिकले परिवर्तनका आन्दोलमा देखेका सपनाहरू पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वाससहितको गौरवमय यात्रामा अघि बढ्न सकौँ भन्ने शुभकामना पनि दिन चाहन्छु । र, यस कठिन परिस्थितिमा हाम्रा सबै मित्र राष्ट्रहरूको निरन्तर सहयोग तथा सद्भावको अपेक्षा पनि गर्दछु ।

आज हामी सङ्कल्प गरौँ, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहनेछौँ, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ, हामी सुशासनप्रति प्रतिबद्ध रहनेछौँ र राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा तथा मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ ।

अन्त्यमा, मुलुकमा स्थायी शान्ति र समुन्नतिका लागि सबैले देश र जनताप्रति इमान्दार भएर नैतिकता, निष्ठा र सदाचार अगालौँ ।

जय नेपाल !

मितिः २०८२/०६/०३