कार्यक्रमका अध्यक्ष,
पुरस्कृत व्यक्तित्व,
उपस्थित महिला तथा सज्जनवृन्द !
सर्वप्रथम नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको लागि जीवन आहुति दिनुहुने राष्ट्रिय विभूति भीमसेन थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
देशको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न त्याग, संघर्ष र जीवन उत्सर्ग गर्ने वीरपूर्खाहरूको योगदानलाई जीवन्त राख्न राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले विभिन्न रचनात्मक कार्य गर्दै आएकोमा म यसको सराहना गर्दछु। साथै, यस कार्यक्रममा राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा प्रतिष्ठानले स्थापना गरेको भीमसेन थापा पुरस्कारबाट पुरस्कृत हुनुभएका डा. भेषबहादुर थापालाई म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । डा. थापाले मुलुकको आर्थिक विकास तथा कुटनीतिक क्षेत्रमा दिनुभएको योगदान प्रशंसनीय छ ।
वास्तवमा इतिहासकै जगमा वर्तमान खडा हुन्छ । वर्तमानको जगमा भविष्यको आधारशीला तय हुन्छ । वीर पूर्खाहरूको त्याग, बलिदान र वृद्धिमत्तापूर्ण कार्यबाट नै हाम्रो देश बनेको हो। नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भिमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधीन हुनबाट जोगाउनुभएको थियो ।
उहाँको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको हो । थापाले आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय छ। त्यसैले नेपालको इतिहासमा भीमसेन थापाको स्थान उच्च रहेको स्पष्ट हुन्छ ।
इतिहासका अनेकौ कालखण्डवाट गुज्रदै हाम्रो देश अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अंगालेर अघि वढ्दैछ । वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो। यसबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौ। हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहान्छु ।
अन्त्यमा, यस प्रतिष्ठानले आगामी दिनमा अझै सृजनशील र रचनात्मक कार्य गर्ने नै छ भन्ने विश्वासका साथ प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
जय नेपाल !
मिति : २०८२ साउन ९ गते शुक्रबार


