सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष,

माननीय मन्त्री,

चलचित्र क्षेत्रका विशिष्ट एवम् पुरस्कृत व्यक्तित्वहरू,

महिला तथा सज्जनवृन्द !

चलचित्र क्षेत्रको लागि विशेष क्षणका रुपमा रहेको आजको दिनमा सर्वप्रथम म यस कार्यक्रममा चलचित्रका विविध विधामा पुरस्कृत महानुभावहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । यसबाट नयाँ पुस्तालाई प्रेरणाका साथै यस क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन मिल्ने मैले विश्वास लिएको छु ।

मानव समुदायलाई प्रभावित र प्रेरित गर्ने चलचित्रको महत्व आधुनिक युगमा पनि उत्तिकै रहेको छ । कलात्मकरुपमा मानवीय जीवन र जगतका विविध पक्षलाई अभिव्यक्त गर्ने शैली र माध्यमका रुपमा यसको महत्व र विशिष्टता सदैव रहँदै आएको छ । मौलिकता, सिर्जनात्मकता र स्वस्थ मनोरञ्जनसहित सूचना, शिक्षा र प्रेरणा प्रदान गर्नमा चलचित्रको महत्व रहँने हुँदा संख्यात्मकसँगै आधुनिक प्रविधिको प्रयोग गरी गुणात्मक, स्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक छ । सीमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुनरुपमा विकास र विस्तार भएको छ त्यो खुशीको विषय हो ।

चलचित्रका माध्यमबाट राष्ट्रिय लोककला, कथा, गीत, सङ्गीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विविध जातजाति, भाषाभाषीका पहिचानजस्ता विषयहरूलाई सशक्त रुपमा अभिव्यक्त गरिने हुँदा यसको संरक्षणमा चलचित्रले खेल्ने सशक्त भूमिकालाई हामीले विर्सन हुँदैन । पछिल्लो समयमा आदिवासी जनजातिलगायतका कला, भाषा, भेषभूषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ । हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रुपमा रहेको छ । यसबाट लाभ लिएर हामीले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित गर्नुपर्दछ भन्ने मलाई लागेको छ । यसबाट चलचित्र  सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान दिने मैले विश्वास लिएको छु ।

कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर यसैको माध्यमबाट हामी आजको विश्वव्यापीकरण र सूचना प्रविधिको युगमा विश्वका दर्शकसामु पुग्ने प्रयासमा जुट्नुपर्दछ । गुणस्तरीय पक्षलाई जोड दिएर बजारीकरणको लागि नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा पनि ध्यान जानु जरुरी छ । त्यसैले, नेपाली चलचित्रको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, चलचित्रकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो ।

स्रष्टा, सर्जकको बौद्धिक, कलात्मक क्षमता र प्रविधिको उचित प्रयोगबाट चलचित्रलाई जीवन्त राख्ने कार्यमा सबै श्रमजीवी चलचित्रकर्मीहरूको योगदान रहने हुँदा यस्ता व्यक्तित्वहरूलाई पुरस्कृत र सम्मानित गर्ने अवसर प्रदान गरेकोमा म  नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।

जय नेपाल !

२०८२ साल असार ३० गते ।