सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले शान्ति समाजले आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार, २०८१ लाई गर्नुभएको सम्बोधन

कार्यक्रमका सभापति,

पुरस्कृत व्यक्ति सुन्दासजी

उपस्थित महिला तथा सज्जनवृन्द !

मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्‌भाव, सहिष्णुता र सामाजिक न्यायका लागि विगत तीन दशकदेखि मानव अधिकार तथा शान्ति समाज क्रियाशील रहेको विदितै छ । यिनै उद्देश्यका लागि समाजले गरेको कार्यक्रमहरूमा विगतमा मैले सहभागिता जनाएको मेरो सम्झनामा छ ।

सामाजिक न्यायको लागि समाजको अभियान र योगदान महत्वपूर्ण छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भूमिका प्रशंसनीय छ ।

समाजले प्रदान गर्ने कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ बाट पुरस्कृत हुनुभएकोमा म सामाजिक न्यायका अभियन्ता एवम् पूर्व राजदूत पदम सुन्दासलाई हार्दिक बधाई दिन चाहन्छु । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी सुन्दासको सामाजिक संस्था र सामाजिक न्यायको क्षेत्रको लामो समयदेखि क्रियाशीलता सराहनीय छ । समाजमा योगदान गरेका मानिसहरूको नाममा स्थापित पुरस्कार प्रदान गर्ने यस्तो अभ्यासले मानिसलाई असल काम गर्न प्रेरित गर्दछ भन्ने मैले विश्वास लिएको छु ।

यसैगरी यो पुरस्कार जसको नाममा स्थापना भएको छ अर्थात बद्रीप्रसाद पहाडी सामाजिक क्षेत्रमा परिचित हुनुहुन्छ ।

नेपाली जनताको त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिकारुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता हो । सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति आम नागरिकमा गराउन उत्तिकै जरुरी छ । राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु हाम्रो साझा दायित्व हो । यसमा विगतदेखिनै शान्ति समाजले खेल्दै आएको भूमिकाको सराहना गर्दै बदलिदो परिवेशमा समाजले यसतर्फ अझै प्रभावकारी ढंगले आगामी दिनमा काम गर्ने मैले विश्वास लिएको छु ।

जय नेपाल !

मिति: २०८२ असार २३ गते बिहीबार