सर्व प्रथम त म एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर स्वदेश फर्कनुभएका नेपाली खेलाडी, प्रशिक्षक र अफिसियलसहित सबैलाई राष्ट्रपति भवन शीतलनिवासमा हार्दिक स्वागत गर्दछु ।
मलेसियामा शनिबार सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाउनु भएकोमा म तपाईँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यसले नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा बढाएको छ । यो सफलता तपाईँहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल हो । नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुसी तुल्याउने खालको छ ।
हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकतर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिन्छ भने अर्कोतर्फ हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्दछन् । यसका लागि देशभित्रै बढीभन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक छ भन्ने म ठान्दछु ।
अन्त्यमा, आगामी दिनमा तपाईँहरूलाई अझै बढि सफलता प्राप्त हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल ।
२०८२ साल असार २३ गते


