माननीय प्रदेश प्रमुखज्यूहरू
सर्वप्रथम म यहाँहरूलाई शीतल निवासमा हार्दिक स्वागत गर्दछु । प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो र समग्रमा तपाईँहरू संघीयताको सेतु हो । त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरुरी छ ।
त्यही भएर मैले यहाँहरूसँग अलिक अगाडिदेखि नै भेटघाट र छलफल गर्ने सोच बनाएको थिएँ । बल्ल मेरो चाहना आज पूरा भएको छ ।
संविधानको धारा १६२ (२) बमोजिम २०७४ साल माघ ३ गते प्रथम पटक सातै प्रदेशमा प्रदेश प्रमुखहरुको नियुक्ति भै प्रदेश सरकारको गठन एवम् ढिलो चाँडो प्रदेशहरूको नामकरण हुँदै गएको विदितै छ ।
पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार हो प्रदेश । प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो । प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ ।
संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ ।
- प्रादेशिक कानुन निर्माणका कामहरू चाँडै सकेर कार्यान्वयनमा जति सक्दो चाँडै लाग्छौ, परिवर्तनको लाभ जतिसक्दो चाँडो नागरिकको आँगनमा पु¥याउन सक्यो त्यति जनतामा व्यवस्थाप्रतिको भरोसा अभिवृद्धि हुन्छ । यसमा विलम्ब नगरौं भनेर हाम्रोतर्फबाट झक्झकाउने काम गरौँ ।
- प्रदेशको संरचनाले मात्र यसको राजनीतिक महत्व स्थापित हँदैन । यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ । चरित्रको बदलाव मुख्य कुरा हो
- राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौँ । प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौँ । साथसाथै अन्तर प्रदेश सहकार्य र समन्वयमा जोड दिऔँ । एक आपसको सहकार्यले सबैलाई लाभ पुग्ने छ भन्ने मलाई लाग्छ ।
- प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिऔँ ।
- मुख्य कुरा नागरिकको सम्मान हो । स्वाभिमान र समृद्धि हो । यसमा प्रदेश प्रमुखज्यूहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गरौँ ।
- विकास–निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिजस्ता क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काम गर्नुपर्छ भन्ने पनि मलाई लागेको छ ।
- खासगरी मेरो जोड सुशासन, जनतामा प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित छ । जनस्तरमा लोकतन्त्रप्रति भरोसा जगाउन बौद्धिक वर्ग, नागरिक समाजका अगुवालाई सम्पर्क गर्ने र छलफल गर्ने गर्दा उपयुक्त हुन्छ भन्ने पनि म ठान्दछु ।
मैले अगाडि पनि भनिसकेको छु कि प्रदेश प्रमुख राष्ट्रपतिको प्रदेशको आँखा पनि हो । राष्ट्रपतिले मुलुक बुझेर आफ्ना क्रियाकलाप सञ्चालन गर्ने उनीहरूकै भरमा हो । त्यही भएर कतिपय विषयमा प्रदेश प्रमुख कार्यालय र राष्ट्रपति कार्यालयवीच प्रदेशका अवस्थाबारे बेलाबखतमा समन्वय तथा सम्पर्क गर्नु उपयुक्त हुन्छ भन्ने पनि मलाई लाग्दछ ।
अन्त्यमा, फेरि पनि म तपाईँहरूको यो उपस्थितिका लागि विशेष धन्यवाद दिदैं हामी सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लागौं भन्ने आग्रह गर्न चाहन्छु ।
जय नेपाल !
२०८२ असार १८ गते
शीतलनिवास, काठमाडौं