सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा गर्नुभएको सम्बोधन

 कार्यक्रमका अध्यक्ष माननीय मन्त्री

 संसदीय समितिका माननीय सभापति

 पुरस्कृत कृषकहरू

 महिला तथा सज्जनवृन्द !

कृषि व्यवसायमा संलग्न भै कृषि कार्य गरिरहनु भएका उत्कृष्ट कृषकहरूलाई सम्मान गर्न पाउँदा मलाई खुसी लागेको छ । कृषक पुरस्कार कार्यक्रमले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्न, कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको मनोबल उच्च राख्न मद्दत पुग्ने विश्वास मैले लिएको छु । राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनुहुने कृषकहरूलाई धेरै धेरै बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिबिम्व गर्दथ्यो । अशिक्षित, गरिबी र न्युन आय हुने परिवारको पेशाको रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको छ । शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेशा बनाई यसैबाट लाखौ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नवीनतम प्रविधि भित्रिएको छ । कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन् । अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनहरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दुग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ । यसरी कृषिले गति लिनुमा तपाईंहरूजस्तै पौरखी कृषकहरूको मेहनत र लगनको कारण हो ।

नेपालको अर्थतन्त्रको करिब २५ प्रतिशत योगदान कृषि क्षेत्रले ओगटेको छ र कृषि पेशामा आवद्ध परिवार संख्या ६२ प्रतिशत छ । नेपालको जनसंख्यालाई विश्लेषण गर्दा हाम्रो देशले देश भित्रका पौरखी हातहरूलाई कृषिको माध्यमबाट देश विकासको सम्वाहकका रुपमा उपयोग गर्न सकिने प्रचुर सम्भवाना म देखिरहेको छु ।

वैदेशिक रोजगारीको लागि बाहिरिएका युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ । मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरूपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौ जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो ।

केही समय पहिले प्रकाशित भएको चौँथो जिवनस्तर सर्वेक्षणमा ५९ लाख जनसंख्या गरीबीको रेखामा परेका छन् । यी गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता पनि कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु ।

राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै हो । मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी छ ।

विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने मैले महसुस गरेको छु । कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण/यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर अन्नदाता कृषकहरूलाई चिनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेकोमा  माननीय मन्त्रीलगायत मन्त्रालय परिवारलाई धन्यवाद दिन चाहन्छु । र, आगामी वर्षहरूमा पनि यस्ता प्रकृतिका कार्यक्रमले निरन्तरता पाओस् भन्ने अपेक्षा व्यक्त गर्दछु ।

जय नेपाल !

२०८२ साल असार १० गते