कार्यक्रमका अध्यक्ष माननीय मन्त्री
पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष वेदुराम भुषाल
पुरस्कृत हुनुभएका स्रष्टा/सर्जक/विद्वतवर्ग,
महिला तथा सज्जनवृन्द !
नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता पुष्पलालको नाममा स्थापित पुरस्कार प्रदान गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । सबैभन्दा पहिले म नागरिक स्वतन्त्रताका लागि सदैव आफूलाई समर्पित गर्ने नेताका रुपमा उहाँका योगदानहरूलाई सम्झना गर्दै पुष्पलाललाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।
पुष्पलाल राष्ट्रिय पुरस्कारबाट सम्मानित व्यक्तिहरूलाई बधाई तथा उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
पुष्पलाल नेपाली जनताको अधिकारका लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने एक शीर्ष नेता हुनुहुन्थ्यो । उहाँ एक निष्ठावान, ईमान्दार तथा त्यागी नेता हुनुहुन्थ्यो । पुष्पलालले नेपालको लोकतान्त्रिक आन्दोलनलाई ठूलो योगदान गर्नुभएको छ । उहाँ कम्युनिष्टहरूबीच पनि फरक चिन्तन र अलग पहिचान बनाउन सफल नेता हो । उहाँ मार्क्सवादी र वर्ग संघर्षको सिद्धान्तबाट आएको नेता भएर पनि लोकतान्त्रिक प्रक्रियाबाटै सबै समस्याको समाधान संभव छ भन्ने विश्वासमा अटल भएर उभिएको एउटा असल नेता हुनुहुन्थ्यो । २०१७ सालको काण्डपछि प्रवासमा रहनुहुँदा मैले उहाँलाई वनारसमा भेटेको थिएँ । कम्युनिष्ट पार्टीका महासचिब रायमाझीको नेतृत्वको समूह पञ्चायतलाई समर्थन गरेर राजाको निकट पुगिसकेको थियो भने अरु केही युवाहरू बंगालका चारुमजुमदार र कानु सन्यालहरूको लाइनमा थिए । पुष्पलालजी भने नेपालमा प्रजातन्त्र पुर्नवहाली गर्न वामपन्थी शक्ति र लोकतान्त्रिक शक्ति मिलेर जानुपर्दछ भन्ने लाइनमा हुनुहुन्थ्यो ।
उहाँको यो चिन्तन कम्युनिष्ट आन्दोलनभित्र कम्युनिष्ट विचारधारा बोक्नेहरूबीच कम चुनौतिपूर्ण थिएन । तथापी उहाँले आफ्नो यो विश्वासलाई कहिल्यै डगमगाउन दिनुभएन । उहाँको यो चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग थियो भन्ने म ठान्दछु । उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टी गर्यो । पछि यसलाई मदन भण्डारीबाट बहुदलीय जनवाद भनेर दार्शिनिकीरण गर्ने प्रयास भयो भने जनताको जनवाद र नौलो जनवाद भन्नेहरू हराएर गए ।
पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरबिरोधहरूलाई सूक्ष्म ढंगले अभिलेखन गर्न पनि योगदान गर्नु भएको छ । यो अर्थमा उहाँ लेखक र चिन्तक पनि हुनुहुन्थ्यो भन्ने म ठान्दछु । यस्तो नेताको नाममा स्थापित पुरस्कार आफैँमा गरिमामय पुरस्कार हो । राजनीतिलगायत विभिन्न क्षेत्रमा योगदान गरेका यस्ता व्यक्तित्वका नाममा राज्यले पुरस्कार प्रदान गर्दा समाजमा असल काम गर्न मानिसलाई प्रेरित गर्दछ भन्ने मलाई लाग्छ ।
अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं । जनता आफैंले बनाएको संविधान हामीले पाएका छौं । जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो । सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र यो लक्ष्य पुरा हुन्छ । लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पुरा गरेर मुलुकलाई सम्वृद्धिको बाटामा लैजान सकेमात्र यस्ता नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने हामीले बिर्सन हुन्न ।
अन्त्यमा, आयोजक मन्त्रालय, पुष्पलाल स्मृति प्रतिष्ठानलगायत उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ।
जय नेपाल !
२०८२ असार ४, बुधबार