सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले दशरथ रंगशालामा आयोजित पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष,

माननीय मन्त्री,

राखेपका सदस्य सचिव,

खेलाडी भाइबहिनीहरू, प्रशिक्षक र अफिसियसलहरू,

उपस्थित सम्पूर्ण खेलप्रेमी महानुभावहरु !

सर्वप्रथम, संघीय प्रणालीअनुरुप विद्यालय तहमा अध्ययनरत १८ वर्षमूनिका विद्यार्थीहरूको खेल कौशल प्रदर्शन गर्ने अभिप्रायले देशैभरिबाट यहाँ उपस्थित हुनुभएका सम्पूर्ण खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शनसहित सफलताको शुभकामना व्यक्त गर्दछु ।

विद्यालयतहका बालबालिकाको उमेर शारीरिक, मानसिक र बौद्धिक विकासको पहिलो प्रहर हो । भविष्य, संभावना, आकांक्षा र उत्सकुताको अनमोल समय हो । यस्तो कलकलाउँदो उमेरमा खेलकुदमा सहभागी हुनु भनेको शारीरिक, मानसिक, बौद्धिक विकास मात्र होइन अभ्यास, अनुशासन र आचरणका माध्यमबाट आफूलाई अनुभवी बनाउँदै एउटा अब्बल देशभक्त नागरिक बनाउनेतर्फको बाटोमा अगाडि बढाउनु पनि हो ।

बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासको लागि खेल जरुरी छ । त्यसैले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको हो । शिक्षा र खेलकुदबीच निकट सम्बन्ध छ । शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवम् खेलकूदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिको कर्णधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारकारुपमा उभ्याउन योगदान दिने मैले विश्वास लिएको छु ।

खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय हो । यहीबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन् । त्यसैले स्थानीय स्तरमा पूर्वाधार, खेलसामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनुपर्दछ ।

मुलुकलाई विश्वसामु चिनाउने सजिलो माध्यम खेलकुद हो । क्रिकेट, पारा ओलम्पिक, हकीलगायतका खेलमा अन्तर्राष्ट्रियस्तरमा नेपालले पछिल्लो समयमा देखाएको उत्साहजनक सहभागिता र नतिजा हाम्रो लागि खुशीको विषय हो ।

हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिन्छ । अर्कोतर्फ, हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्दछन् ।  हाम्रो देशमा खेल पर्यटनको प्रशस्त संभावना रहेकोले मुलुकको अनुपम भौगोलिक विशेषता अनुसारका साहसिक खेलप्रति  विश्वजगतको आकर्षणलाई मध्यनजर गर्दै यसबाटै देशको अर्थतन्त्रमा योगदान दिनेतर्फ राज्यले सोच्नुपर्दछ भन्ने मलाई लाग्दछ ।

प्रत्येक वर्ष खेलका प्रतिस्पर्धा र गतिविधि बढ्दो छ । तर, पूर्वाधार, अभ्यास, प्रशिक्षक, सुविधा र अन्तर्राष्ट्रिय तालिमको अभाव चुनौती बनेको छ । यसका लागि देशभित्रै बढी भन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाउनुपर्दछ । देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनको मुख्य आधारकारुपमा रहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करणलाई बेलैमा सम्पन्न गर्न सम्बन्धित निकायले ध्यान दिनेनै छ ।

अन्त्यमा, पुनः पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

मिति: २०८२ जेठ २८ गते बुधबार ।