सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष माननीय मन्त्री

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माननीय माधवकुमार नेपाल

कूलपतिहरू

पुरस्कृत हुनुभएका स्रष्टा/सर्जक/विद्वतवर्ग,

महिला तथा सज्जनवृन्द !

आजको यस समारोहमा उभिएर नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता पुष्पलालको नाममा स्थापित पुरस्कार समर्पण गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ ।

आजका दिनमा पुष्पलाललाई सम्झदा मलाई लाग्छ, उहाँ नेपाली राजनीतिका एक मुर्धन्य नेता हुनुहुन्थ्यो । एक प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता, उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनलाई ठूलो योगदान गर्नुभएको छ । जसमध्ये मुख्यतः दूई वटा  योगदानहरूलाई सम्झना गर्दै म उहाँलाई श्रद्धासुमन अर्पण गर्न चाहान्छु । पहिलो, निश्चय नै उहाँ मार्क्सवादी हुनुहुन्थ्यो र वर्ग संघर्षमा विश्वास गर्नुहुन्थ्यो । तर समकालीन कम्युनिष्टहरूबीचमा सशस्त्र वर्ग संघर्षको जुन रोमाञ्चकता व्याप्त थियो, उहाँ त्योभन्दा पृथक वर्गीय अन्तरविरोधहरूको समाधान पनि लोकतान्त्रिक प्रक्रियाबाट संभव छ भन्ने ठान्नुहुन्थ्यो । हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र संकटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु आफैंमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त गर्यो । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।

उहाँको दोश्रो योगदान हो, देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्तिहरू मिलेर संघर्ष गर्नपर्छ भन्ने विचार २०४६ सालमा कांग्रेस र वाम मोर्चा मिलेर आन्दोलन गरेकै कारण बहुदलीय प्रजातन्त्र पुनःस्थापना संभव भएको थियो ।

पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरबिरोधहरूलाई सुविचारित ढंगले अभिलेखन गर्न पनि योगदान गर्नु भएको छ । यो अर्थमा उहाँ असल नेता, लेखक र चिन्तक हुनुहुन्थ्यो ।

यस्तो नेताको नाममा स्थापित पुरस्कार आफैँमा गरिमामय पुरस्कार हो । यस महत्वपूर्ण घडिमा स्वर्गीय पुष्पलालप्रति पुनः हार्दिक श्रद्धासुमन तथा उच्च आदरभाव प्रकट गर्दछु । पुष्पलालका परिवारका सदस्यहरूप्रति सम्मानभाव व्यक्त गर्दछु ।

अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं । नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको छ । हामी त्यही संविधान कार्यान्वयनको चरणमा छौं तर पनि अझै हामीले जनताले अनुभूत गर्नसक्ने गरी यसको व्यवाहारिक कार्यान्वयन गर्न नसकिरहेको अवस्था चिन्ताको विषय हो । जनताले अनुभूत हुने गरी लोकतन्त्रको प्रतिफल उनीहरूको घरदैलोसम्म पुर्‍याउनसके मात्र यस्ता नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने हामी नर्बिसौं ।

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएका व्यक्तित्वहरू मध्ये एक जना व्यक्तित्व मित्रराष्ट्र भारत दरभङ्गा विहारका स्व. डा. विश्वनाथ सिंह हुनुहुन्छ । उहाँले पुष्पलालको निर्वासनकाबेला पुर्याउनुभएको योगदानलाई स्मरण गरेर मरणोपरान्त पुरस्कार प्रदान गरिनु अत्यन्त सकारात्मक हो । यो पुरस्कारले दुई छिमेकी मित्रराष्ट्रबीचको सम्बन्धलाई अझ गाढा बनाउन, साँस्कृतिक, सम्बन्धलाई अझ कसिलो बनाउन मद्दत पुग्ने अपेक्षा गरेको छु ।  पुरस्कृत अन्य व्यक्तित्वलाई हार्दिक बधाई तथा सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना ।

अन्त्यमा, आयोजक मन्त्रालय परिवार, पुष्पलाल स्मृति प्रतिष्ठान परिवारलगायत उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ।

जय नेपाल !

२०८१ साउन १७ गते ।