सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदर्श माध्यमिक विद्यालय गणबहाल काठमाडौंको ७५ औँ जन्मजयन्ती (हीरक महोत्सव) लाई गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू,

माननीय मन्त्री एवम् सांसदज्यूहरू,

विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक एवम् कर्मचारीहरू,

उपस्थित महिला तथा सज्जनवृन्द !

सर्वप्रथम नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) को सुखद् अवसरमा म यहाँका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, व्यवस्थापन समिति, सहयोगदाता एवम् शुभेच्छुकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । जनता शिक्षित भएमा आफ्नो निरंकुश शासनको विरोध गर्लान् भनी जनतालाई शिक्षाबाट बञ्चित गर्न खोज्ने राणा शासनभित्र सदैव भय र संशय व्याप्त थियो । नेपाल अँध्यारो युगबाट उज्यालोतर्फ पाइला चाल्न राणा शासन अन्त्य हुन लागेको परिवर्तनको मिर्मिरेमा राजधानीको मुटुमा यो विद्यालय स्थापना हुनु एउटा ऐतिहासिक घट्ना थियो । शिक्षाकै कारणले तत्कालीन समाजलाई प्रजातन्त्र प्राप्तिको लागि भएको क्रान्तिलाई साथ दिन जागरुक बनाएको यथार्थलाई हामीले बिर्सन मिल्दैन । तसर्थ नागरिक, समाज र देशमा चेतना, शिक्षा, जागरण एवम् परिवर्तनका लागि यो विद्यालयले साढे सातदशकको अवधिमा गरेको योगदानको म प्रशंसा गर्न चाहन्छु ।

तीनताका केही शिक्षाप्रेमी, परिवर्तनकामी युवाहरूको समर्पण भावले गर्दा यो विद्यालय स्थापना सम्भव भएको थियो । २००७ साल जेष्ठ २३ गतेका दिन काठमाडौंको इन्द्रचोक तःधंचुकस्थित संस्थापक स्वर्गीय कृष्णहरि मूलको घरमा प्राथमिक विद्यालय र पछि भुलाँ गणबहालमा स्थानान्तर भएर हालसम्म यो निरन्तर गुणस्तरीय शिक्षा प्रदानमा सक्रिय रहनु हामी सबैको लागि खुशीको विषय हो ।

यस विद्यालयका संस्थापकको आदर्श, कर्तव्यपरायणता एवम् मातृभूमिप्रति समर्पित कर्मठ विद्यार्थी तयार गर्ने सपना अनुसारनै विद्यालयको नाम ‘नेपाल आदर्श’ रहन गएको यहाँनेर स्मरणीय छ । वास्तवमा ज्ञान, चेतना, जागरण र रुपान्तरणमा शिक्षाको भूमिका महत्वपूर्ण रहँदै आएको छ । सभ्य र सुसंस्कृत आधुनिक समाज निर्माणमा मात्र नभएर राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा हो । राजनीतिक परिवर्तनपछि मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अवलम्वन गर्दै तीव्र विकासको बाटोतर्फ उन्मुख छ । सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई अघि बढाउन तदनुरुपको शिक्षा दिन आवश्यक छ भन्ने मलाई लाग्छ ।

विद्यालय तहदेखिनै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको माग अनुसारको पाठयक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्दछ । गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रुपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी छ । अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता हो । साथसाथै, स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी छ ।

यस विद्यालयले मुलुकको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने थुप्रै जनशक्ति उत्पादनमा अहोरात्र आजपर्यन्त क्रियाशील हुनु गौरवको विषय हो । आगामी दिनमा पनि शिक्षाको ज्योतिलाई अझ तेजोमय बनाउँदै राष्ट्र निर्माणलाई टेवा दिन सक्ने जनशक्ति उत्पादन गर्दै जान सकोस् भन्ने शुभकामनाका साथ पुनः एक पटक विद्यालयको हीरक जयन्तीको अवसरमा यहाँहरू सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

जय नेपाल !

मिति: २०८२ जेठ २३ गते शुक्रबार ।