काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ हाम्रो पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ ।
नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यालय तहदेखिनै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको माग अनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रुपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी छ भन्नुभयो ।