सम्माननीय राष्ट्रपतिज्यूबाट रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही जेठ १८ गते आइतबार अपरान्ह अवलोकन गर्नुभयो । ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भई उहाँले प्रथम महिला सबिता पौडेलसहित सो जात्रा अवलोकन गर्नुभएको थियो ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए भने सम्माननीय राष्ट्रपति पौडेलज्यूले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गर्नुभएको थियो ।

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिन्छ । त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व रहिआएको छ ।

तस्वीरमा भोटोजात्रा