कावासोती । नवलपरासीको कावासोती नगरपालिका–३ मा अवस्थित अठ्ठाइस विघा क्षेत्रको ज्योतीपुन्ज सामुदायिक बनमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले बर र प्रथम महिला सविता पौडेलले पिपल रोपेर एघारौँ चुरे संरक्षण दिवस २०८२ शुभारम्भ गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिदैँ यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, संगठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हासिल भए–नभएको समीक्षा गरि यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी रहेको बताउनुभयो । उहाँले चुरे संरक्षणको यति ठूलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुने भन्दै यसतर्फ पनि ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सिमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षारोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति जुन उद्देश्यअनुसार गठन भएको थियो त्यसअनुसार अझै उपलब्धि हासिल गर्न सकिएको छैन ।’
