संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ । जयतु संस्कृतमद्वारा विहिबार प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिज्यूले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एशियामा नै गहिरो प्रभाव पर्दै आइरहेकोमा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो–‘कम्प्युटर र ए.आईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ । आजको अशान्त विश्वसमाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ ।’

उहाँले यो संस्कृत सम्मेलनले युद्धको बिभीषिका र सन्त्रासमा उल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानवसभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताउनुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले नेपाल प्राचीन कालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्लयजुर्वेदका मन्त्रहरूको दर्शन पाएका थिए भने वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको स्पष्ट पार्नुभयो ।

लिच्छविकालमा संस्कृत नै राजभाषा भएको कुरा तत्काल कुँदिएका २०० भन्दा बढी शिलापत्र र अभिलेखहरू प्राप्त भएबाट पुष्टी हुने बताउँदै सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभयो –‘मल्ल र शाहकालमा पनि हजारौँ हजार संस्कृतका ग्रन्थहरू रचना भएबाट र वर्तमानमा पनि संस्कृतका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गमभूमिमात्र होइन उर्वरभूमि हो भन्ने कुरा सिद्ध हुन्छ ।