सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।  प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।

वि.सं. २००७ सालको क्रान्ति सफल भएर निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौं । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग वि.सं. २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुन्न । यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनुका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्‌भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ  । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।

सुशासनमार्फत् मुलुकको विकास र समृद्धि नै संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट हो । संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्नु हामी सबैको साझा दायित्व हो । यस अवसरमा म निर्वाचनलाई सफल बनाउन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८२ फागुन ७ गते बिहीबार ।

ने.सं. ११४६ चिल्लाथ्व द्वितीया ।